अध्यक्षको संदेश

रोजगारी, अध्ययन, अनुसन्धान, गोष्ठी, सेमिनार, तालिम लगायत विविध उद्देश्य हासिल गर्ने लक्ष्य अनुरुप नेपालीहरु बिदेशिने क्रम संगै जापानमा थकालीहरुको आगमन पनि चार दशक अघि देखि फाट्टफुट्ट भएको देखिन्छ । तर सन ८० को दशक तिर थकालीहरुको लागि जापान आर्कर्षित गन्तब्य स्थलको रुपमा देखा पर्न थाले पछि बिशेष गरि रोजगारि, अध्ययन र तालिमको सिलसिलामा सन ८० देखि ९० को दशकको अन्तरालमा एक्कासि बाक्लो रुपमा ह्वाक्तै थकालीहरु जापानमा भित्रिएको पाईन्छ ।

स्थायी तथा अस्थायीरुपमा जापान बसाईको क्रममा अधिकांस थकालीहरु सोधखोज वा पूर्व तयारि बिना जापान आगमनका कारण तथा दक्ष वा शिक्षित ब्यक्तिहरुको न्युन संख्याले गर्दा पनि जापानी भाषामा लेखपढ गर्न नसक्नु, निम्नतम बोलिचाली वा यहांका चालचलन बुझ्नको लागि पनि ध्यान नजान्नु, कानुनी प्राबधान सम्बन्धी अनभिज्ञ हुनुको साथै अध्यागमन सम्बन्धी समस्या, रोजगारि सम्बन्धी समस्या, आर्थिक समस्या एवं स्वत रुपमा सामाजिक समस्या संगै अनगिन्ति बिभिन्न समस्याहरु देखा पर्न थाले । बिशेष गरि स्वास्थ्य सम्बन्धीका समस्याले भयकंर ठूलो रुप लिन लाग्दा केहि सचेतक अग्रज थकालीहरुको समुहले एक साझा संस्थाको आवश्यकता महशुस गरि थकाली सेवा समिति जापान नामक जापानमा पहिलो र एकमात्र जातिय संस्थाको रुपमा १९९१ मा स्थापना गरेको हो ।

थसेस जापानको स्थापना पश्चात प्रवासीको लागि प्रवासीद्धारा नै भन्ने मुलमन्त्रलाई शिरोपर राख्दै निरन्तर रुपमा थकालीहरु बिचको पारस्परिक सम्बन्ध, सहयोगको बिस्तारका साथै प्रवासी आम नेपाली बिचमा स्वच्छ मित्रता पूर्ण भावना, स सम्मान सहयोगि ब्यवहार गर्दै आएको छ । चार दशक अघि देखि जापानमा बसोबास गर्दै आएका थकालीहरुलाई एकसु्त्रमा बाँधेर हालसम्म निरन्तर थकालीहरुको कला, संस्कृति, भेषभुषाको उचित संरक्षण, सम्बर्द्धन तथा पहिचान गराउदै पनि आएको छ ।

साथै जापानबासी नेपाली तथा थकालीहरु बीच आईपर्ने समस्याका लागि सांगठनिक पहल एवं उपायहरु खोज्दै अनगिन्ति समस्याहरुको सामाधान पनि गर्दै स्वदेशको आर्थिक बिकास, सामाजिक रुपान्तर र जापानमा आर्जित पुजि, ज्ञान, सीप प्रबिधिको अधिकतम उपयोगको लागि क्रियासिल हुदै आईरहेको कुरा सर्वबिदितै छ ।
जापानको बदलिदो परिस्थिति र समय अनुकुल संस्थालाई अझै सचेत बनाउदै संस्थाको निश्चित उदेश्य र लक्ष्य प्राप्तिको लागि तमाम समस्याहरु संग लड्दै भिड्दै र सामना गर्दै भविष्यमा पनि प्रवासि नेपाली बीचको भावनात्मक एकता, स्वदेश प्रतिको सकारात्मक सोच समाजमा शिक्षा, चेतना जागरण गराउन हरपल प्रयासरत रहने र भविष्यमा पनि निरन्तर यो कार्य अघि बढाउने प्रतिबद्धता समेत जाहेर गर्दछौं ।

स्वदेश तथा बिदेशमा रहनु हुने आम थकाली महानुभावहरुमा थसेस जापानको यस अनलाईन साइट, तपाई हामी सबैको साझा चौताराको रुपमा रहि रहने छ, यस साझा चौतारालाई बिसौनीको रुपमा प्रयोग गर्नसक्नुहुनेछ र सदैब यस साझा चौतारामा हार्दिक स्वागत समेत गर्दछौं । यहाहरुको विविध क्रियाकलाप वा जानाकारिमूलक सूचना, समाचार वा अन्य गतिबिधिहरु जानाकारि गराउनुहुन पनि अनुरोध गर्दछौं ।

अन्तमा ल्ह लाङ्वान्हुर्वु, ल्ह छ्युरिनग्याल्मो, ल्ह क्हाङलासिंकी कर्पो, ल्ह ह्यावार्हाङज्युङ, ल्ह नरिझ्योवले सम्पूर्ण थकाली परिवारहरुको सु-स्वास्थ्य, सुख, समृद्धी, दिर्घायु, एवं उत्तरोत्तर उन्नति र प्रगतिको लागि आशिर्बाद देउन भन्ने प्राथना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

शरद कुमार गौचन
अध्यक्ष
एनपिओ होजिन, थकाली सेवा समिति जापान