थसेस जापानद्धारा आयोजित “दोस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिता” भब्यताकासाथ सम्पन्न


थकाली सेवा समिति जापानको आयोजनामा गत डिसेम्बर १ तारिक आईतबारका दिन टोकियोमा दोस्रो मैत्रीपूर्ण भलिवल प्रतियोगिता ऐतिहासिक रुपमा भब्यताका साथ सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा गल्कोट समाज जापानले प्रथम स्थान हासिल गरेको छ भने तमुधीं जापान दोस्रो भएको छ ।

थकाली सेवा समिति जापानका अध्यक्ष शरद कुमार गौचनको सभापतित्वमा सम्पन्न भएको उक्त प्रतियोगिताका प्रमुख अतिथि जापानका लागि नेपाली दुतावासका राजदूत डा. मदनकुमार भट्टराई हुनुहुन्थ्यो। त्यसैगरी विशेष अतिथिमा टोकियो नाकानो भलिवल एसोसिएसन जापानका उपाध्यक्ष मुनेता सेचुको रहनुभएको थियो।

प्रतियोगिताको पहिलो चरणमा थकाली भेषभुषा (नकनचोलो) मा सजिएका महिलाद्धारा थकालीहरुको चार आराध्य देव तथा ल्ह नरिच्योवको फोटोमा खातार्पण र पुजाआजा गरि शुरु भएको यस प्रतियोगितामा सभापतिले कार्यक्रमको बारेमा बिस्तृत जानकारी राख्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने थसेस जापानका टिम मेनेजर संजिब गौचनले १३ टिमका टिम क्याप्टेनलाई खेल प्रतिबद्धता स्वरुप खेल सपथ गराएर प्रतियोगिताको शुरुआत भएको थियो। त्यसैगरि प्रमुख अतिथि राजदुत डा. भट्टराईले प्रमुख दुई रेफ्रिलाई बल हस्तान्तरण गरि खेलको उद्घाटन गर्नुभएको थियो ।

प्रथम हुने गल्कोट समाजले प्रथम पुरस्कार स्वरूप एक लाख येन (१० मान), शिल्ड, मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ । त्यसैगरी दोस्रो हुने तमुधीं जापानले पचाँस हजार येन (५ मान), शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको । १३ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा पहिलो चरणबाट नै निकै सनसनीपूर्ण खेलहरू भएको थियो।

त्यसो त गल्कोट समाज अघिल्लो वर्षको विजेता टिम हो भने तमुधीं जापान यस वर्ष नयाँ शक्तिको रूपमा उदाएको टिम हो । साथै यस वर्षको वेस्टप्लेयर उपाधि तमुधीं जापानका खेलाडी सोम मगरले हात पारेका छन । खेलको अन्त्यमा प्रथम हुने टिमका खेलाडीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्रको हस्तान्तरण एनआरएन आईसीसी सदस्य तथा निवर्तमान एनआरएन जापानका अध्यक्ष ओम गुरुङले गर्नुभएको थियो भने दोस्रो हुने टिमका खेलाडीहरूलाई माया नेपाली संगीत संस्था तथा नेपाल महोत्सव २०१३ का अध्यक्ष युको ओकामोतोले प्रदान गर्नुभएको थियो ।

निकै नै मैत्रीपूर्ण खेल खेलेका खेलाडीहरूलाइ दर्शकहरूले तालीका पर्राले उत्तिकै हौसला दिएका थिए । खेलको विचविचमा चिआर लेडिहरूद्धारा विभिन्न किसिमका डान्स प्रस्तुतिको साथै जापानको चर्चित फुजि टेलिभिजन च्यानले समेत यस प्रतियोगिताको छायाङ्कन गरेको थियो ।

सम्पुर्ण कार्यक्रमलाई आयोजकका उपाध्यक्षद्धय अनिल भट्टचन र दिपक गौचनले अति नै रोचक र कुशलता पुर्वक शुरुदेखी अन्तसम्म संचालन गर्नु भएको उत्त प्रतियोगिताको अन्तमा आयोजकका अध्यक्ष तथा कार्यक्रमका सभापति शरद कुमार गौचनले सर्वोत्कृष्ट खेलाडी, रेफ्री, चिआरलेडि डान्सरहरूलाइ प्रशंसा पत्र तथा खादार्पण गर्नुहुदै सम्पुर्ण खेलाडि, रेफ्रि, डान्सर, संघसंस्थाका प्रतिनिधि, पत्रकार बन्धुहरु तथा प्रायोजकहरु एवं सम्पुर्ण उपस्थित महानुभावहरुलाइ धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।

स्मरण रहोस, स्वर्गिय डा.योगेन तुलाचनको स्मृतिमा आयोजना भएको यस प्रतियोगिताबाट संकलित रकमले थसेस जापानकै आयोजनामा स्व. तुलाचनको जन्मस्थान मुस्ताङ जिल्लाको बिभिन्न गाविसमा नि:शुल्क स्वास्थ शिविर सञ्चालन गर्नुका साथै स्वास्थ्य परीक्षणमा सहभागीहरूलाई नि:शुल्क उपचार र औषधी बितरण गरिने योजना रहेको यस भलिबल प्रतियोगिताका संयोजक तथा थसेस जापानका सह-कोषाध्यक्ष लेलिन भट्टचनले बताउनु भएको छ ।